अब एक सातासम्मको मौसम पूर्वानुमान

NewsBankNepal Latest Update , News/समाचार , ३ महिना अगाडि

काठमाडौँ, ५ वैशाख। जल तथा मौसम विज्ञान विभागले अब एक सातसम्मको मौसम पूर्वानुमान गर्ने तयारी गरेको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाले हाल तीन दिनसम्मको मात्रै मौसम पूर्वानुमान गर्दै आएको छ ।

एक सातासम्मको मौसमी अवस्था जानकारी दिँदा मौसमजन्य विपतका घटना न्यूनीकरणमा सहयोग पुग्ने विभागको भनाइ छ । एक सातासम्मको मौसम पूर्वानुमान हुँदा किसानहरुलाई बाली लगाउन र भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ । विभागका महानिर्देशक डा जगदिश्वर कर्माचार्यले एक सातासम्मको मौसमसम्बन्धी पूर्वानुमान गर्ने गरी छलफल अगाडि बढिरहेको बताए ।

“अहिलेसम्म हामीले तीन दिन मौसम पूर्वानुमान गर्दै आइरहेका छौँ । यसको प्रभावकारिता पनि बढ्दै जान थालेपछि एक सातासम्मको पूर्वानुमानको तयारी गरिएको हो”, उनले भने। उनले विश्वव्यापी मोडलअनुसार अगाडि बढ्न प्राविधिक र वित्तीय स्रोतको अभाव भएकाले क्षेत्रीयस्तरमा सहकार्य गरेर जान सकिने बताए।

मित्र राष्ट्रहरु र अन्य मौसमसम्बन्धी क्षेत्रीय सङ्गठनसँग सहकार्यका लागि छलफल भइरहेको उनले जानकारी दिए। विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले मौसमसम्बन्धी एक सातासम्मको पूर्वानुमान गर्दा मनसुजन्य विपद्का घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रत्येक वर्ष सर्वसाधरणहरुले बाढी र पहिरोबाट सम्पत्तिको नोक्सान बेहोर्नु परेको छ ।