भक्तपुर, ६ साउन । साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलनको गठामुंगः पर्व मनाउँदैछन् । नेवार समुदायले हर्षोल्लासका साथ मनाउने घण्टाकर्ण पर्व नेवारको मौलिक पर्वमध्येको एक हो । वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रुपमा लिने गरिएको हो ।
यस दिनलाई नेवार समुदायले आफ्नो घर गृहशान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग–ब्याधी नलागोस् भनेर राक्षस धपाउने पूजा गर्ने दिनका रुपमा लिइन्छ । यस दिन नेवार एकाबिहानै उठेर घरलाई लिपपोत गरी सफा पार्ने र घरका सबैजनाले नुहाएपछि महादेवको मन्दिर पुगेर जल ल्याई आफ्नो घरको सम्पूर्ण भागमा सो जलले छर्केर चोखो बनाउने प्रचलन रहेको छ । घर चोखो बनाउने क्रममा दैनिक जीवनमा प्रयोग भइरहेका सम्पूर्ण भाँडाकँुडासमेत धोएर चोखो बनाउनु पर्दछ । महादेवको जल नछर्केसम्म कसैले खान नहुने मान्यता रहेको छ ।