काठमाडौँ, २३ साउन । सरकारले ट्याक्सीमा प्रिन्टर मेसिन जडान गर्ने कार्यलाई तीव्रता दिए पनि लागू हुन सकेको छैन । ट्याक्सीमा यात्रा गर्ने यात्रु नठगिउन् भन्ने उद्देश्यका साथ गुणस्तर तथा नापतौल विभागले २०७३ पुस १७ गतेदेखि ट्याक्सीमा मिटर जडान कार्य गरे पनि यात्रुले यात्राका क्रममा बिल पाएका छैनन् ।
काठमाडौँ रानीबारीकी संगीता श्रेष्ठ रानीबारीबाट बालुवाटारसम्म ट्याक्सीमा जाँदा रु २०० तिर्नुप¥यो । रानीबारीबाट बालुवाटारसम्मको ट्याक्सी भाडा मिटरमा जाँदा धेरैमा रु १५० सम्म पर्छ । उहाँ न त मिटरमा जान पाए , न बिल नै पाए । लैनचौरबाट नक्साल जान नवीन काफ्लेले रु १५० तिर्नुप¥यो । जहाँ मिटरमा जाँदा एकसय रुपैयाँ पनि लाग्दैन । उनलाई मिटर बिग्रेको छ भनेर सवारी चालकले बिल र मिटरबिनै रु १५० लिए ।
यी त केवल प्रतिनिधि घटना मात्र हुन् । काठमाडौँ उपत्यकामा दैनिक सयाँै यात्रु ट्याक्सीबाट ठगिरहेका छन् । यसको नियन्त्रणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिना बर्दीमा दैनिक १०/१२ जना प्रहरीलाई खटाइरहेको छ । उपत्यकाको नयाँ बसपार्क, कलंकी, कोटेश्वर नयाँ सडक, वीर अस्पताल, लगनखेल, एयरपोर्ट, त्रिवि शिक्षण अस्पताल, ठमेल, दरबारमार्गलगायतका क्षेत्रमा बढी ठगी हुने गरेको भन्दै महाशाखाले उक्त क्षेत्रमा बिना बर्दी प्रहरी खटाएको हो ।
महाशाखाका प्रमुख सर्वेन्द्र खनाल मिटरमा जान नमान्नु, बढी भाडा लिनु, ट्याक्सी बिल नदिने दैनिक २० देखि ३० ट्याक्सी चालकलाई कारबाही गरेको बताउनुहुन्छ । “दैनिक २०० को हाराहारीमा हामी ट्याक्सी जाँच गछौँ त्योमध्ये २० देखि ३० ट्याक्सी चालक कारबाहीमा पर्छन्,”– प्रमुख खनाल भन्नुहुन्छ । महाशाखाले आर्थिक वर्ष २०७३÷७४ मा ६ हजार ६९ ट्याक्सीलाई कारबाही गरेको छ । अघिल्लो आव २०७२÷७३ मा दुई हजार ८०१ ट्याक्सी कारबाहीमा परेका थिए ।रासस

