काठमाडौँ, २७ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य राष्ट्रबीच खुला व्यापार प्रवद्र्धन गर्न उद्देश्यले तयार गरिएको बिमस्टेक खुला व्यापार सम्झौता शीघ्र सम्पन्न गरिने भएको छ ।
बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीको काठमाडौँमा आज सम्पन्न बैठकले बिमस्टेक ग्रिड अन्तरसम्बन्ध स्थापना गर्ने सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकले बिमस्टेक सदस्य राष्ट्रबीच प्रविधि हस्तान्तरण गर्नेसम्बन्धी सम्झौतालाई शीघ्र अन्तिमरूप दिने निर्णय गरेको उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।
यही साउन २६ र २७ गते काठमाडौँमा सम्पन्न बिमस्टेकको १५औँ मन्त्रिस्तरीय बैठकका सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री महराले बैठक सफलतापूर्वक सम्पन्न भएको बताउँदै बिमस्टेक सदस्यराष्ट्रबीच व्यापार सहजीकरण गर्ने, पारवहन लगायतका सम्झौतालाई यथाशीघ्र अन्तिमरूप दिने निर्णय भएको बताए ।
उनले भने “बैठकले आतंकवाद तथा अपराध नियन्त्रणका लागि तयार गरिएका क्षेत्रीय अभिसन्धिमा हस्ताक्षर र अनुमोदन गर्नुका साथै सन् २०१२ मा काठमाडौँमा सम्पन्न बिमस्टेक सदस्य राष्ट्रका गरिबी निवारण मन्त्रिस्तरीय बैठकले पारित गरेको गरिबी निवारण कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।” बिमस्टेकको कामलाई थप प्रभावकारी बनाउन स्थापना गरिने भनिएका बिमस्टेक केन्द्र (बिमस्टेक ऊर्जा केन्द्र, बिमस्टेक वातावरण केन्द्र र बिमस्टेक संस्कृति केन्द्र) लाई शीघ्र स्थापना गरी काम सञ्चालन गर्ने निर्णय भएको छ ।
त्यस्तै बैठकले बिमस्टेकको २० औँ वार्षिकोत्सव मनाउने क्रममा बिमस्टेक सचिवालय र सदस्य राष्ट्रले आयोजना गरेका विभिन्न कार्यक्रमको प्रशंसा गर्दै बिमस्टेकका सम्बन्धमा प्रचारप्रसार गर्न थप कार्यक्रमसमेत आयोजना गर्ने निर्णय गरेको उपप्रधानमन्त्री महराले जानकारी गराए ।
मन्त्रिस्तरीय बैठकले गत १६ अक्टोबर २०१६ मा भारतको गोवामा सम्पन्न भएको बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र र सरकार प्रमुखको रिट्रिट बैठकका निर्णय र सोही बखत पारित भएको १६ बुँदे कार्यान्वयन कार्ययोजनामा भएका उपलब्धिको समीक्षा गर्दै उक्त निर्णयको तत्काल कार्यान्वयनमा समेत जोड दिएको छ ।
नेपालले बिमस्टेकका ऊर्जा मन्त्रिस्तरीय तेस्रो बैठक सन् २०१८ को सुरूमा गर्ने प्रस्ताव गर्नुका साथै बिमस्टेकको चौथो शिखर सम्मेलन सदस्य राष्ट्रसँग सल्लाह गरी सबै सदस्य राष्ट्रलाई अनुकूल हुने मितिमा गर्ने प्रस्ताव गरेको उनले जानकारी दिए ।