काठमाडाें । वाक्युद्धमा उत्रिएका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीचकाे छलफल टुंगाेमा पुग्न सकेन । एमाले मुख्यालय धूम्रबाराहीमा भएका छलफलमा दुबै नेताबीच देखिउकाे तिक्तता मेटाउने प्रयास भयाे ।
एमाले अध्यक्ष ओलीले नेपाल पक्षको सहभागिताविना बैठकले केन्द्रीय कमिटीका पदाधिकारी हेरफेर, माओवादी केन्द्रबाट आएका नेतालाई केन्द्रीय सदस्यमा मनोनयन र विधान संशोधन गरेपछि दुई समूहबीच तिक्तता पैदा भएको थियो । सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना र एमाले ब्यँुतिएपछि पहिलो पटक शीर्ष नेताहरु एमालेलाई एकताबद्ध बनाउन र एकापसमा देखिएका विवाद सुल्झाउन छलफलमा जुटेका हुन् ।
नेता भीम रावलले भने एकपक्षीय रुपमा बसेको बैठकले गरेका निर्णय अवैधानिक भएको स्वीकार गर्न प्रधानमन्त्री ओली तयार नदेखिएको बताए । यद्पी लामाे समयपछि दुइ नेताबीच छलफल हुनुलाइ उनले सकारात्मक लिएका छन् ।
अध्यक्ष ओलीले २८ फागुनमा आफू निकट केन्द्रीय सदस्यहरुको बैठक राखेर विधान संशोधन गर्ने, नेताहरुको जिम्मेवारी हेरफेर गर्ने र रामबहादुर थापा बादल समूहका २३ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नेलगायतका निर्णय गराएका थिए ।
नेपाल समूहले समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएपछि एमाले विभाजन उन्मुख भएको देखिएको हाे ।ओलीले एकलौटी रुपमा आफ्नो पक्षको बैठक राखेर निर्णय गरेपछि एमाले विवाद निर्वाचन आयोगसम्म पुगेको छ ।
नेता रघुजी पन्तले दुइ नेताबीचकाे वार्तालाई सकारात्मक रुपमा लिँदै फेरि पनि छलफलमा टुंगाेमा पुग्ने विश्वास व्यक्त गरे ।अदालतले सबैलाई एमाले बनाइदिएको हुँदा एमालेलाई एकताबद्ध बनाउने कुरामा अध्यक्षले जोड दिएका थिए ।
छलफलमा महासचिव ईश्वर पोखरेल, नेता विष्णुप्रसाद पौडेल, सुवास नेम्बाङ, प्रदीपकुमार ज्ञवाली तथा वरिष्ठ नेता नेपालका तर्फबाट नेपालसहित नेता भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डे सहभागी थिए । अबकाे छलफल कहिले हुन्छ भन्ने तय भने भएकाे छैन ।

