बझाङमा पहिरोमा बेपत्ता १९ जना भेटिएनन्

NewsBankNepal Latest Update , News/समाचार , ४ वर्ष अगाडि

बझाङ,११ कात्तिक । थलारा गाउँपालिकामा पहिरोमा परी बेपत्ता भएका १९ जना भेटिने सम्भावना न्यून हुँदै गएको छ ।

 बेपत्ताको खोजी गर्न गएको प्रहरी टोली फिर्ता भएको छ । यही कात्तिक पहिलो साता थलारा–४ डिक्लामा पहिरोमा परी दुई परिवारका २३ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये चार जनाको मात्र शव फेला परेको थियो भने दुई जनाको कम्मरभन्दा मुनिको भाग मात्रै भेटिएको थियो ।

आठ दिनसम्म लगातार खोजी गरे पनि शव नभेटिएपछि प्रहरीले खोजी कार्य बन्द गरेको छ । घटना लगत्तै प्रहरी टोली हेलिकप्टरमा गएर खोजीकार्य अघि बढाएको थियो । प्रहरी नायव उपरीक्षक रुपक खड्काले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले प्रयास गरेपनि बेपत्ता व्यक्ति भेटाउन नसकेको बताए ।

“जिउँदै होलान भन्ने आशा छैन । अब भेटिने सम्भावना नदेखेर प्रहरी टोली फर्केको छ”, उनले भने । आवश्यक प्रक्रिया पु¥याएर बेपत्ता सबैलाई मृत घोषणा गरिने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए।