कांग्रेसकाे आसन्न महाधिवेशन प्रतिनिधिमा कुमारराज सुवेदीको दाबेदारी

NewsBankNepal Latest Update , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । नेपाली कांग्रेस काठमाडौंका स्थानीय नेता कुमारराज सुवेदीले आसन्न महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि (खुल्ला) मा उम्मेदवारी घोषणा गरेका छन् ।

गोकर्णेश्वर—५, जोरपाटीका स्थायी बासिन्दा सुवेदी नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय प्रतिनिधि हुन् ।

२०४६ सालदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका सुवेदीले तत्कालीन जोरपाटी इकाईको पहिलो निर्वाचित सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए । २०५४ को स्थानीय चुनावमा उनी झिनो अन्तरले जोरपाटी गाविसको उपाध्यक्षमा पराजित भएका थिए ।

हाल उनी पार्टीको निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको विज्ञ सदस्य हुन् । राजनीतिसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय सुवेदीलाई राजधानीको पूर्वी भेगमा मानवअधिकार तथा समाजसेवाको क्षेत्रका अग्रणीको रूपमा लिइन्छ ।

विश्वको सबैभन्दा ठूलो स्वयंसेवी संस्था लायन्स क्लब इन्टरनेशनल नेपालको डिस्ट्रिक्ट गभर्नर रहिसकेका सुवेदी मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय महासचिव समेत भइसक्नु भएको छ ।

वाणिज्य शास्त्रमा स्नातक सुवेदी हाल नेपाल भलिवल संघको केन्द्रीय उपाध्यक्ष सहित अन्य थुप्रै सामाजिक संघ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ । राजनीति सहित समाजसेवामा उत्तिकै क्रियाशील सुवेदी जत्तिको पात्रलाई राष्ट्रिय राजनीतिमै स्थापित गराउन महाधिवेशन प्रतिनिधिमा जिताउनुको विकल्प नरहेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय प्रतिनिधिहरू बताउँछन् ।