बाल सुधारगृहबाट दुई बालकैदी फरार

NewsBankNepal Latest Update , News/समाचार , २ वर्ष अगाडि

वीरगन्ज ।वीरगन्जस्थित बाल सुधारगृहबाट आज दुई बाल कैदीबन्दी फरार भएका छन् ।कर्तव्य ज्यान मुद्दाका सर्लाही निवासी अमरकान्त ठाकुर र जबर्जस्ती करणी मुद्दाका सप्तरी निवासी पाण्डव यादव बाल सुधारगृहको छतबाट हामफालेर फरार भएका हुन् ।

दुवै अभियुक्तलाई अदालतले दोषी ठहर गरेपछि आचरण सुधारका लागि बाल सुधारमा राखिएको थियो । फरार दुवैजनाको खोजी भइरहेको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।

क्षमताभन्दा बढी बाल कैदीबन्दी भएकाले मधेस प्रदेशको एकमात्र सुधारमा गृह यतिबेला समस्या सिर्जना भएको छ । न्यून भौतिक पूर्वाधार, बजेटको अभाव, सरकारी उदासिनता र क्षमताभन्दा बढी बालक र किशोरहरू कोचेर राख्नुपर्ने बाध्यताका कारण सुधारगृह समस्यामा परेको हो ।

साठी जनाको क्षमता भएको सुधारगृहमा हाल दोब्बरभन्दा बढी एक सय २६ बालक तथा किशोरलाई कोचेर राखिएकाले बालक तथा किशोरहरूमा स्वास्थ्य समस्यासँगै सुधारगृह व्यवस्थापनमा समेत कठिनाइ भइरहेको त्यहाँका प्रमुख टीकाकृष्ण काफ्लेले बताउनुभयो । ठाउँ अभावका कारण सो गृहमा बालबालिका उकुसमुकुसका साथ दैनिक जिवन बिताउन बाध्य छन् ।

एउटै कोठाभित्र धेरै जना कोचर बस्नु पर्दा स्थ्यलगायत अन्य समस्या भइरहेको गृहमा रहेकाहरूको गुनासो थियो । धेरै मान्छे कोचाकोच गरी बस्दा अक्सिजनको मात्रा घटेर कतिपयमा खुट्टा सुनिने र श्वासप्रश्वासको समस्या हुने गरेको गृहमा कार्यरत स्टाफनर्स अन्जु कुमारीले बताउनुभयो ।