‘र’को एजेण्ड भनी धम्क्याउँदै उद्योगपतिसँग रकम माग गर्ने गिरोह पक्राउ

arjun Others/अन्य , ७ वर्ष अगाडि

रत्ननगर (चितवन), ११ साउन । भारतीय गुप्तचर संस्था ‘र’ को नेपाल प्रतिनिधि हुँ भन्दै चितवनका उद्योगपतिलाई धम्क्याएर ठूलो रकम माग गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चार जनाको गिरोहलाई आज जिल्ला प्रहरी कार्यालय चितवनमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मुख्य योजनाकार मानिएका एक जना भने भगौडा सशस्त्र प्रहरीका जवान हुन् । अन्य तीनजना भने उनका सहयोगी रहेको अनुसन्धानमा खुलेको थापाले जानकारी दिए ।

उनीहरुलाई साउन ९ गते सोमबार राजधानीको बसपार्क नजिकै रहेको सिस्नेरी गेष्ट हाउसबाट पक्राउ गरिएको उनले जानकारी दिए । यसरी पक्राउपर्नेमा धादिङ ज्वालामुखि गाउँपालिका वडा नं २ बस्ने ३० वर्षीय ईश्वर बस्नेत, सोही ठाउँका २२ वर्षीय रोशन बस्नेत र २० वर्षीय मनोज श्रेष्ठ तथा सोही गाउँपालिका वडा नं १ का २२ वर्षीय रामकृष्ण श्रेष्ठ रहेका छन् । उनीहरुमध्ये मुख्य योजनाकार रहेको ईश्वर बस्नेत भने विसं २०६४ देखि २०६८ मा सशस्त्र प्रहरी बल सानो गौचरण काठमाडौँमा सशस्त्र प्रहरी जवानमा कार्यरत थिए । त्यसपछि जागिर छाडेका उनी गाउँमा ठेक्कापट्टामा काम गर्दै आएको प्रहरीले जनाएको छ ।