चितवन, ३ मंसिर । नेकपा ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनले चितवन क्षेत्र नं ३ स्तब्ध बनेको छ । अध्यक्ष दाहालको गृह जिल्ला र चुनावी क्षेत्र भएकाले प्रकाशको निधनसँगै यहाँका सर्वसाधारण दुखित भएका छन् । चुनावी प्रचार अभियान भइरहँदा प्रकाशको निधनसँगै वाम र लोकतान्त्रिक गठबन्धनले आज सबै चुनावी प्रचारका कार्यक्रम स्थगन गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहालसँग चुनावी प्रतिस्पर्धामा रहनुभएका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले दाहाल परिवारमा परेको पीडाप्रति आफू मर्माहित भएको जनाउँदै आज घरदैलो र चुनावीसभाका सबै कार्यक्रम स्थगन गरिएको बताए । पाण्डेको क्षेत्र नं ३ अन्तर्गत भरतपुर महानगरपालिका–२१ को पार्वतीपुर र २६ को दिव्यनगरमा आज घरदैलो र चुनावीसभाका कार्यक्रम थिए ।
त्यस्तै वाम गठबन्धनले जिल्लाका तीन वटै क्षेत्रमा आज गर्ने भनेको घरदैलो र चुनावीसभाका कार्यक्रम सबै स्थगन गरिएको माओवादी केन्द्र चितवनका इञ्चार्ज ईश्वरी भट्टराईले बताउनुभयो । पार्टी अध्यक्षका पुत्र प्रकाशको निधनले सिंगो देश शोकमा रहेको भन्दै जिल्लाका सबै कार्यक्रम स्थगन गरिएको उनले बताए। वाम गठबन्धनले यही मङ्सिर ५ गते भरतपुरमा गर्ने भनिएको चुनावीसभा पनि हालका लागि स्थगन गरिएको छ । सो सभालाई माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम थियो ।