काठमाडौंको ऐतिहासिक बसन्तपुर दरबार क्षेत्रमा बिहीबार उल्लासपूर्ण वातावरणमा होली पर्व मनाइएको छ। रंगहरूको पर्व फागुपूर्णिमाका अवसरमा नेपालीहरूसँगै विदेशी पर्यटक पनि रमाउँदै होली खेले।
विशेषगरी चिनियाँ पर्यटकहरूको उल्लेखनीय सहभागिता रहेको बसन्तपुरमा उनीहरू रंग खेल्दै र नेपाली संस्कृतिको स्वाद लिँदै देखिए। नेपाल भ्रमणमा आएका १०० जना चिनियाँ फोटोग्राफरहरूले पनि होली पर्वमा सहभागी भई रमाइलो गरेका छन्।
राष्ट्रिय फोटो पत्रकार समूह र नेपाल-चाइना फ्रेन्डसिप फोरमको निमन्त्रणामा नेपाल आएका यी फोटोग्राफरहरू यहाँको संस्कृति, सम्पदा, र पर्यटन दृश्याङ्कनका लागि आएका हुन्।
बसन्तपुर क्षेत्रमा आज नेपाली मात्र होइन, विभिन्न देशका पर्यटकहरूले पनि होलीको रंगमा डुबेको दृश्य उत्साहजनक देखिएको छ। रंग, संगीत र आपसी सद्भावको यो पर्वले नेपालको सांस्कृतिक पहिचानलाई थप उजागर गरेको छ।





