राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्धारा बजेट र भावी कार्य योजना तयार

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,२८ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बजेट, भावी कार्य योजना र आवश्यक संगठनात्मक संरचना तयार भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले प्राधिकरणले तयार पारेको बजेट, भावी कार्ययोजना र आवश्यक संगठनात्मक संरचनासहितको प्रस्ताव स्विकृत गरि दिएको हो ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको निर्देशक समितिको बैठकले प्राधिकरणका लागि विनियोजना गरेको १ खरव ४५ अरव बजेट स्विकृत गरेको हो । प्रधानमन्त्री अध्यक्ष रहेको निर्देशक समितिले स्विकृत गरेपछि मात्रै प्राधिकरणले विनियोजित बजेट खर्च गर्न पाउने कानुनी व्यवस्था छ । प्राधिकरणको बजेट, कार्ययोजना र आवश्यक सगठनात्मक संरचनाका सम्बन्धमा तयार पारिएको प्रस्ताव आवश्यक निर्देशनसहित निर्देशक समितिबाट स्विकृत भएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिनु भयो ।

बैठकमा प्रमुख प्रतिपक्ष एमाले उपाध्यक्ष एवम् प्राधिकरणका पनि उपाध्यक्ष भीम रावलले पुर्ननिर्माणको काम चुस्तदुरुस्त बनाउन प्राधिकरणलाई सचेत पनि गराउनु भएको थियो । प्राधिकरणले साउन १ गतेदेखि सोही बजेट र कार्ययोजनाको आधारमा पुनर्निर्माणको कामलाई अघि बढाउनेछ । साउन १ गतेदेखि पुनर्निर्माणको कामलाई अझै तीव्र गतिमा बढाउने बाटो तय भएको पनि प्राधिकरणका प्रवक्ता भुसालले स्पष्ट पार्नु भयो । प्राधिकरणले तयार पारेको एक वर्षे कार्ययोजनामा गुनासो व्यवस्थापन, निजी आवास निर्माण, विद्यालय, अस्पताल, सम्पदाहरुको निर्माणको कामलाई तीव्रता दिने र भूकम्प प्रभावित र अतिप्रभावित गरी ३१ वटा जिल्लामै आवश्यक संगठनात्मक संरचना निर्माण गर्ने उल्लेख गरिएको छ ।

बैठकमा निर्देशक समितिका उपाध्यक्ष समेत रहनु भएका एमाले उपाध्यक्ष भीम रावलले प्राधिकरणको कामलाई तीव्र गतिमा अघि बढाउने गरी भावी योजना स्विकृत गरिएको बताए । उनले प्राधिकरणको काम सुस्त भएकोमा आलोचना पनि गरे ।बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राध्यापक डाक्टर गोविन्द पोखरेलले प्राधिकरणको हालसम्मको कार्य प्रगतिविवरण प्रधानमन्त्री एवम् निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवा समक्ष पेश गरेका थिए । प्राधिकरणले तयार पारेको कार्यप्रगति विवरणमा हालसम्म ४० हजार घर निर्माण गरिएको उल्लेख गरिएको छ । प्राधिकरणले निजी आवास, विद्यालय र सम्पदा निर्माणको कामले गति लिएको दावी गरेपनि अस्पतालहरुको र्निर्माणको कामले भने गति लिन नसकेको स्विकार गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले १ लाख १० हजार घर निर्माणको चरणको रहेकोे पनि स्पष्ट पार्नु भयो । प्राधिकरणले अव भूकम्पपछिको पुनर्निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउने प्रतिवद्धता पनि जनाएको छ ।