बुटवलमा काँग्रेस माओबादी गठबन्धनलाई हराउदै एमाले विजयी

arjun स्थानीय निर्वाचन , ७ वर्ष अगाडि

बुटवल २१ असार ।   रुपन्देहीको एक मात्र उपमहानगरपालिका बुटवलमा एमालेले जित हासिल गरेको छ । उपमहानगरपालिकाको आज सम्पन मतगणनापछि निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार १९ वटा वडामध्ये १६ वटा वडासहित नगर प्रमुख तथा उपप्रमुखमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । प्रमुखमा एमालेका शिवराज सुवेदी २३ हजार २४९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेलराज पाण्डेले २० हजार ८५१ मत प्राप्त गरे ।

नगर उपप्रमुखमा नेकपा एमालेकै गुमादेवी आचार्यले २५ हजार ३०१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय पार्टी जनमुक्तिबाट उम्मेदवार बनेका माओवादी केन्द्रका जगत पोखरेलले १४ हजार ७९२ मत पाए। निर्वाचनमा विजयी भएपछि प्रमुख सुवेदीले आफूहरुले उपमहानगरका जनतासँग गरेका प्रतिबद्धताअनुसार नगरको आवश्यकता अनुरुप काम गर्ने प्रतिबद्धता जनाए।
नेपाली काँग्रेस, माओवादी केन्द्र र जनमुक्ति पार्टीको चुनावी गठबन्धनले वडा नंं १ मा एक महिला सदस्य, वडा नंं १३ मा अध्यक्षसहित एक महिला सदस्य, वडा नंं १८ मा अध्यक्ष र वडा नं १९ मा अध्यक्षसहित तीन सदस्य मात्र जित्न सफल भएको छ । रासस