म्यादी प्रहरीले पाउने सेवा, सुविधामा कुनै कटौति गरिएको छैन :नेपाल प्रहरी

arjun Photo Gallery , ७ वर्ष अगाडि

काठमाण्डौ,९ पुस । नेपाल प्रहरीले म्यादी प्रहरीले पाउने सेवा, सुविधामा कटौति नगरिएको स्पष्ट पारेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज नेउपानेले म्यादी प्रहरीले पाउने सेवा, सुविधामा कटौति नभएको प्रष्टयाउनु भएको हो । उहाँले आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सरकारले तोकि दिएको सेवा, सुविधा दिएर म्यादी प्रहरीलाई विदा गरिएको पनि स्पष्ट पार्नु भयो । उहाँले स्थानीय दर, भाउ र रेट अनुसार म्यादी प्रहरीले रासन भत्ता बापतको रकम भने घटीबढि पाउने गरेको पनि स्पष्ट पार्नु भयो । सरकारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा प्रयोजनका लागि ९८ हजार २ सय ६८ जना म्याद प्रहरी भर्ना गरेको थियो । सोही म्यादी प्रहरीले पाउने सेवा र सुविधा फरक परेको भन्ने गुनासो आएपछि नेपाल प्रहरीका प्रवक्ता नेउपानेले राशन भत्ता भने ठाउँ अनुसार फरक पर्न गएको प्रष्टयाउनु भएको हो ।

प्रवक्ता नेउपानेले नेपाल सरकारले स्थानीय ठाउँ अनुसार एकै जिल्लामा पनि ठाउँ अनुसार राशन भत्ता भने भने फरक फरक तय गरेको पनि स्मरण गराउनु भयो । सरकारले म्यादी प्रहरीहरुलाई नेपाल प्रहरीको सिपाई सो सरहको सेवा, सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही अनुसार म्यादी प्रहरीले पनि सेवा र सुविधा पाएको नेपाल प्रहरीको स्पष्टिकरण छ ।